Logo

बिर्तामोडमा कृषि लगानी: बजार व्यवस्थापनदेखि मौरीपालनसम्म



बिर्तामोड, २० चैत । बिर्तामोड नगरपालिकाले कृषिलाई आधुनिकीकरण गरी कम लागतमै बढी उत्पादन बढाउन बजार व्यवस्थापनदेखि मौरीपालनसम्म लगानी बढाउँदै लैजान थालेको छ ।

“कृषकको समृद्धि: व्यवसायिकरण र आधुनिक प्रविधि” नारा लिएर किसानलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउन लगानी बढाउँदै गएको नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा एक करोड ६५ लाख रकम बिनियोजन गरेको हो । नगरपालिकाले कृषि क्षेत्रमा पाँच वर्षको अवधिमा ८ करोड ९० लाख बजेट बिनियोजन गरेको छ ।

नगरपालिकाले कृषि पेशामा आवद्ध भएर व्यवसायिक रुपमा खेती गर्न मेयर विषादीमुक्त नगर कार्यक्रम, साना सिंचाई तथा यान्त्रीकरण कार्यक्रम, तरकारी बजार व्यवस्थापन कार्यक्रम, कृषि प्रसार कार्यक्रम, एक समूह एक उत्पादन कार्यक्रम, व्यवसायिक मौरी विकास कार्यक्रम तथा बिर्तामोड नगरपालिका र सहारा नेपालको लागत साझेदारी कार्यक्रम अघिल्ला आर्थिक वर्ष झैँ चालु आर्थिक वर्षमा पनि निरन्तरता सञ्चालन गरिरहेको कृषि अधिकृत राजेन्द्रप्रसाद कडरियाले बताए ।

नगरपालिकाले कृषकहरुलाई व्यवसायमा आकर्षित बनाउदै परम्परागत कृषि प्रणालीमा सुधार ल्याउन पावर टेलर, मिनी टेलर, धान काट्ने मेसिन, मकै छोडाउने मेसिन वितरण गरेको कृषि अधिकृत कडरियाले बताए । हालसम्म नगरपालिकामा दर्ता भएका २०० कृषक समुहरुको व्यवस्थापकीय क्षमतामा सुधार गर्दै थप नयाँ कृषक दर्ता गर्ने कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको कृषि शाखाले जनाएको छ ।

नगरपालिकाले मेयर विषादी मुक्त कार्यक्रम सञ्चालन गरेपछि किसान लाभान्वित भएका छन् । चालु आर्थिक वर्षमा मेयर विषादीमुक्त कार्यक्रमका लागि ३६ लाख ५० हजार विनियोजन भएको छ । मेयर विषादीमुक्त कार्यक्रममा हालसम्म ७० जना व्यवसायिक कृषकहरु तरकारी उत्पादनमा आवद्ध भै व्यवसायिक तरकारी उत्पादन गरीरहेका छन् भने चालु आर्थिक वर्षमा ४० जना कृषकलाई आवद्ध गराएर कार्यक्रम सञ्चालन भई रहेको कृषि अधिकृत कडरियाले बताउँछन् ।

नगरपालिकाले तरकारी बजार व्यवस्थापन अन्तर्गत कृषि थोक बजारभित्र मुख्य तरकारी संकलन केन्द्र निर्माण गरी नगरका मुख्य ७ स्थानमा बिक्रि केन्द्र स्थानहरु पहिचान गर्ने काम सुरु गरेको छ । बजार व्यवस्थापन कार्यक्रममा अन्तर्गत हालसम्ममा तरकारी उत्पादनमा संग्लन १३७ जना कृषकहरुले उत्पादनको चरण पार गरि परिमाणमुखि उत्पादन सुरु गरेको कृषि शाखाले जनाएको छ । नगरपालिकाले तरकारी खेतिमा संग्लन कृषकहरुलाई आवश्यकता अनुसार उच्च प्रविधि तालिम र उत्पादन सामाग्री उपलब्ध गराउँदै आएको छ ।

नगरपालिकाले साना सिंचाई कार्यक्रम अन्तर्गत सहारा नेपाल साकोस र कृषकहरुको लागत साझेदारी हालसम्म ५३७ वटा सिंचाई कार्यक्रमबाट १ हजार ६११ विगाहा भन्दा बढी जग्गा सिंचित गरिएको र चालु आर्थिक वर्षमा १५० मोटर बोरिगं मार्फत ४५० बिगाह जमिनमा सिंचाई कार्यक्रम चालु अवस्थामा रहेको प्राविधिक सहायक अनु मोतेले बताइन् ।

नगरपालिकले कृषि प्रसार कार्यक्रम अन्तर्गत अनुदानमा उन्नत धानको बिउ, कृषकहरुको माटोको सुधार गर्न कृषि चुन सहयोग, कृषक समुहहरुलाई स्प्रेयर, कौशी खेती तालिम र सामाग्री, आकस्मिक बाली संरक्षण कार्यक्रम, व्यवसायिक फुल उत्पादन कार्यक्रमहरु सञ्चालन चालु अवस्थामा रहेको प्राविधिक सहायक मोते बताउँछिन् ।

नगरपालिकाले अघिल्ला आर्थिक झैँ चालु आर्थिक वर्षमा आलु, राज्मा, तोरी, फापर, सूर्यमुखी र कुच्छ बालीहरुको बृहत र व्यवसायिक उत्पादनका लागि एक समुह एक उत्पादन कार्यक्रम सञ्चालन गरिरहेको कार्यालय सहयोगी दुर्गाप्रसाद बरालले बताए ।

नगरपालिकाले व्यवसायिक मौरीपालनमा कृषकहरुलाई आत्मनिर्भर बनाउन अनुदानमा मौरी घार वितरण, औजार तथा सामाग्रीहरु खरिद र व्यावसायिक मौरी तालिमसमेत दिई रहेको कृषि शाखाले जनाएको छ ।

May be an image of 9 people, people standing and outdoors

 

प्रतिक्रिया दिनुहोस्