Logo

बिर्तामोडमा गाडीको ठक्करबाट एकजनाको मृत्यु



झापा, २६ असार । झापाको बिर्तामोडमा अज्ञात गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । गएराति १०.४५ बजे बिर्तामोड–२ रामचौकस्थित सडकछेउमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एकजना व्यक्ति गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको गस्ती गर्ने क्रममा तत्काल नाम थर वतन नखुलेको अन्दाजी ४० वर्षका पुरुषलाई गम्भीर अवस्थामा फेला पारी उपचारको लागि बिर्तासिटी अस्पताल पठाएकोमा अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

उनको टाउको लगायत शरीरको विभिन्न भागमा चोट देखिएको छ । पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएर भागेको अनुमान गरिएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ । त्यस्तै बिर्तामोड –१ स्थित टाईमलेस होटेल परिसरभित्र मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन् । राति ११ः३० बजे अर्जुनधारा –६ बस्ने १९ वर्षीय सुदर्शन लिम्बूले चलाएको प्र.१–०१–०१३ प.१५११ नम्बरको मोटरसाइकल परिसरभित्र रहेको पार्किङ स्थलबाट बाहिर निकाल्ने क्रममा सोही स्थानमा पार्किङ गरी राखेको प्र.१–०१–०१४ प ३८६६ नम्बरको स्कुटरमा ठोक्किएको थियो ।

मोटरसाइकलमा पछाडि सवार मोरङ सुन्दरहरैचा-२ खुर्साने घर भई हाल बिर्तामोडको लिटल फ्लावर्स स्कुल अगाडी डेरा गरी बस्ने १९ वर्षीय रिजन कुँवर मोटरसाइकलबाट लडेर घाइते भएका छन् ।

उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका कुँवरको अवस्था मध्यम रहेको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्