काठमाडौं, २२ जेठ । झापाको बिर्तामोडमा चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् ।
करिव एक महिनाअघि बिर्तामोड वडा न. ४ बस्ने कमला कार्कीको घरबाट लाखौंको धनमाल चोरी भएको थियो । त्यस घटनामा संलग्नहरु पक्राउ परेका हुन् ।
पछिल्लो समय विर्तामोडमा श्रृंखलावद्ध चोरी भइरहेको अबस्थामा गत बैशाख १५ गते दिउँसो १ः३० बजे कार्कीको घरको मुल ढोकामा लगाएको ताल्चा फोरी कोठाभित्र रहेको दराज फुटाई दराजको सेफ लकरमा राखेको नगद तथा ढिका सुन-५ तोला, पाँच तोला आठ आनी सुनबाट तयार गरिएको सुनको गहनाहरुः-ब्रास्लेट थान-१, सिक्री थान–२, एक तोला आठ आनीको सुनको औंठी-२ थान, चार आनी सुनको चन्द्रमा थान-१ र तीन तोला सुनबाट तयार गरिएको सुनको गहनाहरुः- चोकर थान-१, लकेट थान-७ गरी २९ लाख बराबरको धनमाल चोरी भएको थियो ।
चोरीपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले घटनाको अनुसन्धान थालेको थियो । त्यसक्रममा आशंकित बिर्तामोड वडा न- ७ वस्ने २७ वर्षीय दिपेश खवासलाई नियन्त्रमा लिई सोधपुछ गर्दा उनले कार्कीको घरको ढोलाको ताल्चा समेत फुटाई सुनको गहना चोरी गरेको स्वीकार गर्दै सो गहना बिर्तामोड वडा न. ४ वस्ने ३५ वर्षीय पवन चौधरीलाई बिक्री गरेको बताएका थिए ।
त्यसपछि पवन चौधरीलाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा उनले दिपेश खवाससंग खरिद गरेको गहना मेचीनगर नगरपालिका वडा न. १० धुलावारी बस्ने ३३ वर्षीय आशिष श्रापलाई बिक्री गरेको खुलेको थियो ।
आशिष श्रापले संचालन गर्दै आइरहेको जय ज्वेलर्समा चोरी भएको गहनामध्ये १ तोला २३ लाल र ८ प्वाईन्ट सुन फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिनुभयो।
बिर्तामोड १ मा फेरि चोरी
दिनदहाडै हिजो बिर्तामोड-१ मा फेरि चोरी भएको हो । करिव एक महिनाको अवधिमा बिर्तामोडको चार ठाउँबाट एक करोडभन्दा बढीको धनमाल चोरी भइसकेको छ ।
बिर्तामोड वडा न.१ हनुमान टोल बस्ने विवेक पाण्डे र पुष्कर पाण्डेको घरबाट हिजो लाखौंको धनमाल चोरी भएको हो । हनुमान टोल बस्ने विवेक पाण्डे र पुष्कर पाण्डेको–३ तले घरमा दोस्रो र तेस्रो तलामा दाजुभाई बस्ने गरेकोमा दिउँसो घरमा कोही नभएको अवस्थामा पहिलो तलाको सिँडीमुनि लुकाई राकेको चाबी लगी दुबै तलाबाट चोरी भएको हो । मुल ढोकाको ताला खोली घरभित्र रहेको विवेक पाण्डेको ६ तोला बराबरको सुनको गरगहना र पुष्कर पाण्डेको ६ तोला सुनको गरगहना र नगद रु ५० हजार गरी अन्दाजी २२ लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउनसाथ हुनासाथ डीएसपी बिजय श्रेष्ठको कमाण्डमा टोली खटिएर चोरी गर्ने ब्यक्तिको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको जनाइएको छ ।