Logo

बिर्तामोडमा ट्रक-मोटरसाइकल ठक्कर: चालकको मृत्यु, पत्नी घाइते, मोटरसाइकल जलेर नष्ट



झापा, २ माघ। झापाको बिर्तामोड–५ स्थित सिटी सेन्टर नजिक पूर्व–पश्चिम लोकमार्गमा मंगलबार साँझ ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक हल्दिबारी–४ निवासी ३२ वर्षीय खगेन्द्र मगरको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार साँझ करिब ७:५० बजे बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार उनकी २५ वर्षीया पत्नी सुकमाया तामाङ गम्भीर घाइते भएकी छन् र उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

ठक्करपछि मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको थियो। आगो नियन्त्रणका लागि प्रहरी र बिर्तामोड नगरपालिकाको दमकल परिचालन गरिएको थियो।

ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। ट्रक चालक घटनापछि फरार रहेकाले खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्