Logo

बिर्तामोडमा ठूलो परिमाणको ब्राउनसुगरसहित एक जना पक्राउ



झापा, २२ पुष । झापाको बिर्तामोडमा प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउनसुगर बरामद गर्दै एक जना कारोबारीलाई नियन्त्रणमा लिएको छ।

मंगलबार दिउँसो करिब १:३० बजे बिर्तामोड नगरपालिका–१, सूर्यनगर टोलस्थित एक घरमा छापा मारेर ४० वर्षीय अजय राजवंशीलाई पक्राउ गरिएको हो।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले राजवंशीको घरमा खानतलासी गर्दा प्लास्टिकमा प्याक गरिएको १३१ ग्राम ३६० मिलिग्राम तथा घरभित्रै अन्यत्र लुकाइ राखिएको १२३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी राजवंशीको घरबाट नेपाली नगद २ लाख ६७ हजार रुपैयाँ, भारतीय नगद २९ हजार ५०० रुपैयाँ, डिजिटल तराजु, कैंची, चक्कु तथा दुई थान मोबाइल फोन समेत बरामद गरिएको छ।

पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्