Logo

बिर्तामोडमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर



झापा, ८ फागुन । बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ ।

नगरका ४ वटा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा फागुन ११ गते, वडा नम्बर १० मा फागुन १२ गते, वडा नम्बर ९ मा फागुन १३ गते र बिर्तामोड नगरअस्पतालमा १५ गते शिवर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिनुभयो ।

नगरका अन्य वडाका व्यक्तिहरुले पनि पायक पर्ने स्थानमा गएर सेवा लिन सकिने जनाईएको छ । नेपालमा पाठेघरको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये शीर्ष स्थानमा रहेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस शिविरबाट जतिसक्दो धेरै जनाले लाभ लिन आग्रह गर्नु भएको छ । रोगबाट हुनसक्ने जोखिम कम गर्न यो शिविर अत्यन्तै फलदायक रहेको बताउँदै उहाँले स्वास्थ्य नै मानिसको सबै भन्दा ठुलो सम्पति रहेकोले आफ्नो स्वास्थ्यको ख्याल गर्न सबैलाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्