बिर्तामोड, २७ कात्तिक । बिर्तामोडको कृषिथोकबाट बरामद गरिएको माहुर (मुंग्री) हाइब्रेड माछा आज नष्ट गरिएको छ ।
वडा नम्बर ५ स्थित कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको अवस्थामा १ सय किलो माछा शनिबार सांझ बिर्तामोड नगर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेपाल सरकारबाट प्रतिवन्धित, मानव स्वास्थ्यलाई असर पुग्ने उक्त माछा कृषकहरुको सहयोगमा नगर प्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरी कमान्डर किरण पाण्डेले जानकारी दिए ।
नियन्त्रणमा लिएको माछा आज बिर्ताबजार नजिकै खाल्डो खनेर पुरिएको हो ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, माछा उत्पादक कृषक मोहन शिवाकोटी, लक्ष्मीप्रसाद शिवाकोटी, कपिल न्यौपाने, मोहन सिंह राजवंशी, ज्ञानेन्द्र बिमली लगायत स्थानियको रोहबरमा माछा नष्ट गरिएको हो ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले यस प्रकारको प्रतिवन्धित माछा उत्पादन नगर्न कृषकहरुलाई आग्रह गरे । उनले अवैध र मरेका माछा बिर्तामोड नगर क्षेत्र भित्र विक्री वितरण गरेको भेटिएमा कानून अनुसार नगरपालिकाले कार्वाही गर्ने चेतावनी दिए ।
बिर्तामोड नगरपालिकाले मरेका माछा विक्री-वितरणमा प्रतिबन्ध लगाएको छ ।