झापा, १२ फागुन । झापाको बिर्तामोडमा ‘प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८१’ हुने भएको छ ।
फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा आगामी चैत्र २९ र ३० गते प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता बिर्तामोडमा सोमवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
तेक्वान्दो खेल मार्फत खेलाडीहरुलाई खेलप्रतिको रुची, जनचासो र खेलाडीहरुलाई उत्प्रेरणा प्रदान गर्ने प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।
प्रतियोगितामा सात वटा प्रदेशबाट एक हजार पाँच सय बढी खेलाडी, एक सय अफिसियल निर्णायकहरु र अन्य गरी दुई हजार भन्दा बढीको सहभागिता रहने फिट स्टुडियोका संस्थापक दिपेन धिमालले जानकारी दिनुभयो ।
प्रतियोगितामार्फत खेलकुदका क्षेत्रसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने आयोजक समितिको अपेक्षा रहेको छ ।
प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ आठ वटा तौल समूहमा खुल्ला तेक्वान्दो प्रतियोगिता हुनेछ । तीनवटा उमेर समूहमा हुने पुम्से प्रतियोगिता अन्तरगत तेक्वान्दोतर्फ ३५ केजी, ३८ केजी, ४१ केजी, ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी र ५८ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।
त्यस्तै पुम्सेतर्फ महिला–पुरुष दुवैको १० वर्षभन्दा कम, १२ वर्षभन्दा कम र १४ वर्षमाथि उमेर समूहको प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुले आकर्षक मेडल तथा प्रमाणपत्र पाउनेछन् भने बेस्ट फाइटर एक–एक जना महिला–पुरुषले रु। २०–२० हजार नगद पुरस्कार समेत प्राप्त गर्ने छन् ।
प्रतियोगिताको उत्कृष्ट टिमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा २० जना राष्ट्रिय तथा २० अन्तर्राष्ट्रिस्तरका निर्णायक (रेफ्री) रहने छन् ।
प्रतियोगिता सम्पन्न गर्न ३० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।