Logo

बिर्तामोडमा फोहोर वर्गीकरण अभियान सञ्चालन हुने



झापा, ५ साउन । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणको प्रक्रियालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सम्बन्धित वडाका जनप्रतिनिधिको अगुवाईमा साउन ६ गतेदेखि अभियान अघि बढाउने तयारी भएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार फोहोर व्यवस्थापनको विषयमा बसेको जनप्रतिनिधिको बैठकले फोहोरको समस्या समाधानका लागि विभिन्न निर्णय गरेको छ । बैठकले सरसफाई कार्ड अनिवार्य गर्ने, सडक तथा सार्वजनिक स्थलमा फोहोर फ्याल्नेको टोल विकास समितिमार्फत निगरानी बढाउने र दण्ड जरिवाना गर्ने निर्णय गरेको छ । यस्तै सरसफाई शुल्क मध्ये टोल विकास समितिले १५ प्रतिशत त्यहीँको विकासको लागि खर्च गर्न पाउने व्यवस्था गर्नका लागि कार्यपालिकामा सिफारीस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले वर्गीकरण गरिएको कुहिने फोहोर कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा पठाउने र नकुहिने फोहोरका लागि उपयुक्त स्थानको खोजी गरी व्यवस्थापनमा जुट्ने निर्णय गरेको छ ।

यस्तै बिर्तामोडको फोहोर संकलनको जिम्मा पाएको निराकार सरसफाई प्रा.लि.को अनुगमन गर्ने र कम्पनीको क्षमताको विश्लेषण गरी मुल्याङ्न गर्ने निर्णय भएको छ । बैठकले विगत १ वर्षदेखि फोहोर व्यवस्थापनका लागि निशुल्क जग्गा उपलव्ध गराउने समाजसेवी विवेक प्रसाईलाई धन्यवाद दिएको छ ।

बैठकमा बोल्दै नगर प्रमुख प्रसाईले कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जामा नकुहिने फोहोर व्यवस्थापनको लागि काम अघि बढेको जानकारी दिए । यसको मेशिन खरिदको लागि टेण्डर प्रक्रिया अघि बढेको बताए । मेशिन खरिद पछि नकुहिने प्लाष्टिक जन्य फोहोरबाट पेवर्स लगायतका सामाग्री उत्पादन हुनेछ । बिर्तामोड नगरपालिकाबाट उत्पादन भएको कुहिने फोहोर नविकरणीय उर्जामा पठाउन थालिएको छ ।

प्रदेश सांसद कमला थापा मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाअध्यक्ष अग्निप्रसाद पाण्डे वडा नम्बर १, किशोर पौड्याल वडा नम्बर २, मदन बुढाथोकी वडा नम्बर ३, रोहित प्रसाई वडा नम्बर ५, सूर्यप्रसाद कन्दङ्वा वडा नम्बर ६, अविरल कृष्ण खरेल वडा नम्बर ७, हरि चौलागाई वडा नम्बर ९ र दुर्योधन गुरुङ वडा नम्बर १० लगायत कार्यपालिका सदस्य, वडा सदस्यले फोहोर व्यवस्थापनको समस्या र समाधानको उपायको सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्