Logo

बिर्तामोडमा बजार अनुगमन



बिर्तामोड, २८ भदौ । दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसंगै बिर्तामोड बजार अनुगमनलाई तिब्र पारिएको छ ।

बजारमा म्याद गुज्रिएका, खान अयोग्य सामानहरू र अश्वस्थ माछा मासु विक्री वितरण हुनसक्ने अवस्थालाई ध्यान दिंदै मंगलबार बजार अनुगमन गरीएको हो ।

बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, आन्तरिक राजश्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, ईलाका प्रहरी कार्यालय अनारमनि लगायत विभिन्न सरोकारवाला संघ संस्थाहरुले संयुक्तरुपमा बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बिर्ताबजारमा रहेको ॐ मिष्ठान्न भन्डारमा म्याद गुज्रीएको ११ बट्टा रसगुल्ला फेला परेको थियो । अनुगमन टोलीले वडा नम्बर ३ बिर्ताबजारमै रहेको सुरमनि राजवंशीको मासु पसल र वडा नम्बर ५ को कृषिथोक बजारमा रहेको सिता माछा पसलबाट विषादी टेष्टको लागि माछाको सेम्पल उठाएको छ ।

अनुगमनका क्रममा अधिकांस मासु पसल फोहोर रहेको, खुल्ला र झिंगा भन्किरहेको अवस्थामा विक्री वितरण गरीरहेको, भारतबाट आयात गरीएका मरेका माछा विक्री गरीरहेको फेला परेको थियो । उनीहरुलाई मापदण्ड अनुसार पसललाई व्यवस्थित गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।

यस्तै बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले चाडपर्वको अवसरसंगै अन्य समयमा पनि मासिक, त्रैमासिकरुपमा बजारमा छड्के अनुगमन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्