Logo

बिर्तामोडमा मोटरसाइकल-अटो ठक्कर: उपचारका क्रममा युवतीको ज्यान गयो



झापा, ५ माघ । झापाको बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अधुवा खोला पुल नजिक सोमबार राति करिब १०:५० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

लक्ष्मीपुरबाट मुक्तिचौकतर्फ जाँदै गरेको प्र.१–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वानस्टप मलबाट अधुवा खोलातर्फ मोडिँदै गरेको मे.१ ह ३७२१ नम्बरको अटोलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक गौरादह नगरपालिका–३ का २४ वर्षीय निरज कार्की र पछाडि सवार दमककी २२ वर्षीया सुजाता बुढाथोकी घाइते भएका थिए।

टाउकोमा गम्भीर चोट लागेकी बुढाथोकीलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा आज बिहान करिब ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रहरीका अनुसार अटो चालक अर्जुनधारा नगरपालिका–६ का ३४ वर्षीय खेमराज खड्का र मोटरसाइकल चालक कार्कीलाई सामान्य उपचारपछि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्