झापा, ३० जेठ । बिर्तामोड नगरपालिकाको आयोजनामा ‘बिर्तामोड रोजगार मेला’ आजदेखि अतिथि सदनमा सुरु भएको छ। नगरप्रमुख पवित्रा महतारा प्रसाईं र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले संयुक्त रूपमा रिबन काटेर मेलाको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नं. २ का अध्यक्ष किशोर पौडेल तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
रोजगार मेलामा सुरक्षा, बीमा, प्राविधिक शिक्षा, होटल व्यवसाय, उद्योग, सूचना प्रविधि, स्वास्थ्य, कृषि तथा विभिन्न सेवा क्षेत्रसँग सम्बन्धित दर्जनौं संस्था तथा कम्पनीहरूले आफ्नो स्टल राखेका छन्। मेलामा सहभागीहरूले रोजगारीका अवसर, सीप विकास तथा व्यवसायिक सम्भावनाबारे जानकारी प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, रोजगार सेवा केन्द्र, प्राथमिक उपचार केन्द्र र सोधपुछ कक्षसमेत सञ्चालनमा राखिएको छ, जसले आगन्तुकलाई आवश्यक सेवा र जानकारी उपलब्ध गराइरहेका छन्।
मेलाको अवसरमा उद्योगी–व्यवसायी र रोजगार खोज्ने युवाबीच अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ। रोजगार सिर्जना, सीप विकास र निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको मेलामा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्य रहेको छ।
नगरपालिकाले मेलामार्फत स्थानीय युवालाई रोजगारीसँग जोड्ने र रोजगारदातालाई योग्य जनशक्ति उपलब्ध गराउने अपेक्षा गरेको जनाएको छ।








