Logo

बिर्तामोडमा विज्ञान प्रदर्शनी सुरु



काठमाडौं, २४ जेठ । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न वर्तमान समयमा आएको विज्ञान तथा प्रविधिमा भएको विकासलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ ।

‘हामीले भविष्यका जिम्मेवार नागरिक हाम्रा विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धनमुलक दृष्टिकोण र नवप्रवर्तनशिल क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु हाम्रो दायित्व हो,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘मुलुकको जिम्मेवार राजनीतिक पार्टी जसको अध्यक्षसमेत यसै झापा जिल्लाका हुनुहुन्छ । उहाँको जिल्लामा यस प्रकारको रचनात्मक कार्यक्रम आयोजना हुनु खुसीको विषय हो ।’

भविष्यका जिम्मेवार नागरिक विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धनमुलक दृष्टिकोण र नवप्रवर्तनशिल क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु सरकारको दायित्व भएको उहाले बताउनुभयो ।

शनिवारदेखि झापाको बिर्तामोडमा नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले सुरु गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनी कार्यक्रमको सुरु गर्दै पूर्वराष्ट्रपति भण्डारीले उक्त कुरा बताउनुभएको हो ।

देवी माध्यमिक विद्यालयमा आयोजित उक्त प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मोबाइल एप ‘टच’ प्रयोग गरी दीप प्रज्वलन गर्दै सुरुवात गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले प्रदर्शनीबाट आएको खोज र आविष्कारलाई व्यवहारमा उतार्ने पार्टीको प्रतिबद्धता रहेको बताउनुभयो । प्रदर्शनीमा कोशी प्रदेशका पाँच सय विद्यार्थी प्रतिस्पर्धात्मक रूपमा सहभागी छन् भने १ लाख विद्यार्थीको सहभागिता रहने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई चार लाख रुपियाँसम्मको नगद पुरस्कार प्रदान गरिने विभागका संयोजक गणेश पोखरेलले जानकारी दिनुभयो ।

प्रदर्शनी बिर्तामोडको देवि माविमा यहि जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्