झापा, २६ पुष । झापाको बिर्तामोडमा आगामी वैशाख महिनादेखि ‘नागरिक सहकारी अस्पताल’ सञ्चालनमा आउने भएको छ। नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडले सहकारी मोडेलमा अस्पताल सञ्चालनका लागि अन्तिम तयारी पूरा गरेको जनाएको छ।
बिर्तामोड–४ हर्कलाल मार्गमा निर्माणाधीन अस्पताल भवनमा आज सम्पन्न सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभामा अध्यक्ष युवराज दाहालले आगामी वैशाखदेखि अस्पताल सेवा सुरु गरिने जानकारी दिए। उनले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको उद्देश्य समुदायमैत्री, सुलभ र स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु रहेको स्पष्ट पारे।
कोरोना महामारीका बेला अस्पतालमा भर्ना हुन नपाएर ज्यान गुमाउनुपरेका घटनाबाट प्रेरित भई ‘हाम्रो अस्पताल हामी आफैँ बनाउँछौँ’ भन्ने मूल नारासहित सहकारी स्थापना गरिएको हो। स्थानीय सहकारी अभियन्ता कृष्ण पौडेलको परिकल्पनामा सुरु भएको यो अभियानले अब मूर्त रूप लिन लागेको कार्यक्रमका वक्ताहरूले बताए।
हर्कलाल मार्गस्थित कञ्चनजंघा स्कुलको उत्तरतर्फ युवराज दाहाल र नवराज दाहालकी आमाको नाममा रहेको जग्गा २५ वर्षका लागि लिजमा लिएर अस्पताल भवन निर्माण गरिएको हो। अस्पतालका कार्यकारी प्रमुख कृष्ण पौडेलका अनुसार पहिलो तलाको निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ भने आवश्यक उपकरण खरिद र सेटअपको काम बाँकी छ। तीनतले अस्पताल भवन चार कठ्ठा क्षेत्रफलमा फैलिएको छ भने आसपासको खाली जमिनसमेत गरी कुल ११ कठ्ठा क्षेत्रफल प्रयोगमा ल्याइनेछ।
सहकारीमा विभिन्न विशेषज्ञ चिकित्सकहरू सदस्य रहेकाले अस्पतालबाट सुलभ शुल्कमा गुणस्तरीय सेवा प्रदान हुने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मोरङ सहकारी अस्पतालका कार्यकारी प्रमुख विकास अधिकारीले सहकारी मोडेलमार्फत सानो–सानो पुँजी लगानी गरेर ठूलो प्रभाव पार्न सकिने अनुभव साझा गरे। उनले १७ वर्षको अनुभवका आधारमा नागरिक सहकारी अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा. टंक बाराकोटीले सहकारी अस्पतालले न्यून शुल्कमा स्तरीय सेवा दिने विश्वास व्यक्त गरे। त्यस्तै पूर्व उपसचिव डा. मुक्ति खनालले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीबीच पनि नागरिक स्वास्थ्य सहकारीले आफ्नो उद्देश्य हासिल गर्ने विश्वास व्यक्त गरे। समाजसेवी तथा व्यवसायी राजकुमार पोखरेलले स्थानीय व्यवसायी एकजुट भए गुणस्तरीय सेवा सस्तो मूल्यमा दिन सकिने धारणा राख्दै सबैलाई सहकारीको सदस्य बन्न आग्रह गरे।
संस्थाका अध्यक्ष युवराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव रविन्द्र भट्टराईले सञ्चालन गरेका थिए भने कोषाध्यक्ष जीवनकुमार खड्काले सहभागीहरूलाई स्वागत गरेका थिए।







