बिर्तामोड, १४ माघ । बिर्तामोडमा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम शुक्रबारदेखि सुरु भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा बिराट बहुउद्देश्य सहकारी संस्थाको हल बिर्ता बजारमा तालिम सुरु भएको हो ।
तालिममा बिर्तामोड नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका प्रदेश र नगरपालिका मातहतका सहकारी संस्थाहरुबाट ६० जना सहभागी छन् । बिर्तामोडमा प्रदेश मातहतका ९२ र नगरपालिका मातहतका ३४ वटा सहकारी सञ्चालनमा रहेको सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिए ।
उक्त तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले सहकारीमा देखिएका समस्याहरुलाई हल गर्दै व्यवस्थित गरेर लैजानु पर्ने बताइन् ।
सहकारीलाई थप बलियो बनाउने विषयमा तालिम महत्वपुर्ण रहेकाले राम्रो सिक्न सहभागीहरुलाई उनले आग्रह गरेकी छन् ।
सामाजिक विकास शाखाकी संयोजक तथा कार्यपालिका सदस्य यामुना आचार्यको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बिराट बहुउदेश्य सहकारी संस्थाका प्रवन्ध निर्देशक रुद्र सिटौला, सञ्चालक समिति सदस्य अर्जुन पाठक लगायतको उपस्थिति रहेको थियो ।
उक्त तालिमको सहजीकरण नगरका सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहाल र सूचना प्रविधि अधिकृत जयराम चौलागाईले गर्ने छन् ।






