Logo

बिर्तामोडमा हात्तीपाइले रोग विरुद्वको औषधी सेवन कार्यक्रम शुभारम्भ



बिर्तामोड, १० फागुन । बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ भएको छ ।

नगरपालिकाको कार्यालयमा बुधबार आयोजित संक्षिप्त कार्यक्रमवीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले औषधी सेवन गरेर नगर स्तरिय औषधी सेवन कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।

उक्त कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले पनि औषधी सेवन गरेका थिए ।

बिर्तामोड नगरपालिकाको आव्हान, हात्तीपाईले रोग मुक्त नगर हाम्रो अभियान भन्ने मुलनाराका साथ फागुन ११ देखि १७ गतेसम्म नगरका सबै वडाहरुमा हात्तीपाइले रोग विरुद्वको औषधी सेवन कार्यक्रम सञ्चालन हुने भएको हो ।

औषधी सेवन शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले हात्तीपाइले रोग विरुद्वको औषधी अनिवार्य सेवन गर्न नगरवासी सबैलाई आग्रह गरेकी छन् । अघिका वर्षहरुमा औषधीको बारेमा गलत हल्लाह भएकाकारण धेरै सर्वसाधारणले औषधी सेवन नगरेको भन्दै उनले त्यस प्रकारको भ्रममा नपर्न आग्रह गरेकी हुन् ।

बिर्तामोड नगरपालिका क्षेत्रभित्र औषधी सेवन कार्यक्रमका लागि १ सय ५० जना भन्दा बढी तालिम प्राप्त स्वास्थ्यकर्मीहरु खटिएको स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिए ।

उनले पहिलो चरणमा प्रत्येक वडामा रहेका विद्यालय र त्यसपछि गाउँ टोलहरुमा पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले औषधी ख्वाउने तयारी रहेको बताए । नगरपालिकाले औषधी सेवन कार्यक्रमका बारेमा विभिन्न प्रचार प्रसार तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको समेत व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्