झापा, १३ असार । बिर्तामोड नगरपालिकाले ‘मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत वडा नं. ९ स्थित पञ्चकन्या महिला समूहलाई ४५ वटा बाख्रा र एक वटा बीउ बोका वितरण गरेको छ।
शुक्रबार आयोजित बाख्रा साटासाट कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले समूहका १५ जना सदस्यलाई प्रतिव्यक्ति तीनवटाका दरले बाख्रा हस्तान्तरण गर्नुभयो। कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगीता शिवाका अनुसार बाख्राहरू बिर्तामोड–२ स्थित ओम नवज्योति कृषक समूहबाट खरिद गरी वितरण गरिएको हो।
कार्यक्रमअन्तर्गत एक समूहलाई बाख्रा उपलब्ध गराइएपछि एक वर्षपछि ती बाख्राबाट जन्मिएका सोही संख्याका पाठापाठी अर्को समूहलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ। वितरण गरिएका बाख्राको बीमा खर्चसमेत नगरपालिकाले नै व्यहोर्दै आएको छ।
नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले सञ्चालन गर्दै आएको यो कार्यक्रम अन्तर्गत बाख्रा तथा बंगुर ‘साटा–साट’ योजना प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ। शाखा प्रमुख नगेन्द्र खड्काका अनुसार हालसम्म नगरपालिकाले १८ वटा समूहलाई ३६० वटा बाख्रा वितरण गरिसकेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख संग्रौलाले बाख्रापालनलाई आयआर्जनको प्रभावकारी माध्यमका रूपमा विकास गर्न व्यवसायिक रूपमा लगनशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
बाख्रा वितरण कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष हरिप्रसाद चौलागाईंसहित स्थानीयवासीको सहभागिता रहेको थियो।





