Logo

बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा, २ हजार १ सय ७७ जनाको सफल उपचार (भिडिओ)



झापा, १० असोज । झापाको बिर्तामोडमा अवस्थित बिर्तामोड चिल्ड्रेन हस्पिटल, सेवा सञ्चालन अवधीको
तेस्रो वर्षमा प्रवेश गरेको छ । तेस्रो वार्षिकोत्सवको अवसरमा हस्पिटलले विर्तामोडमा चाडपर्व विशेष शुभकामना आदान प्रदानसहित अस्पतालको सेवाका बारेमा जानकारी  गराएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लीला मैनालीको अध्यक्षतामा आयोजित तेस्रो वार्षिकोत्सव समारोहमा अस्पतालका प्रवन्ध निर्देशक एवं बालरोग विशेषज्ञ डा. रूपक आचार्यले अस्पतालले एक बर्षको अवधिमा २ हजार १ सय ७७ जनाको ओपिडी सेवा मार्फत सफल उपचार गरेको जानकारी दिनुभयोे।

अस्पतालमा १ हजार ७४ जनाले इमरजेन्सी सेवा लिएको र २ हजार १ सय  ७८ जनाले अस्पताल भर्ना भएर सेवा लिएको उहाले जानकारी दिनुभयोे। अस्पतालमा उपचारार्थ भर्ना भएका ९९ दशमलव ९ प्रतिशत बिरामीको सफल उपचार पछि निको बनाएर पठाएको डा। आचार्यको भनाई छ । यसकारण पनि बिर्तामोड चिल्ड्रेन हस्पिटलको सेवा गुणस्तरीय रहेको उहाको दावी छ ।

अस्पतालले अत्याधुनिक जापानिज प्रविधिका उपकरणसहित इको र इसिजीको सेवा २४सै घण्टा उपलब्ध गराइरहेको उहाले बताउनुभयो । अस्पतालमा अधिकांश एक बर्ष मुनिका नवजात शिशु आउने भएकाले उपचार प्रक्रियामा अत्यन्तै संवेदनशिल हुनु परेको अस्पतालले जनाएको छ । अस्पतालले बालबालिकामा देखा पर्ने मेनेन्जाईटिस, मुटुको रोग, दिमागमा अक्सिजनको कमी, बाथ रोग, मृगौला रोग लगायतका जटिल रोगहरुको समेत सफल उपचार गर्नुका साथै अटिजमसमेत पहिचान गरिरहेको डा. आचार्यले बताउनुभयो ।

अस्पतालमा शल्यक्रिया सेवा सुरु नभएकाले हालसम्म २५ जनालाई अन्यत्र रिफर गर्नु परेको अवगत गराउँदै डा। आचार्यले अबको लक्ष्य सुविधा सम्पन्न भवन निर्माण गरी अस्पतालले सेवा विस्तार गर्नु रहेको बताउनुभयो ।

एक वर्षको अवधिमा अस्पतालले सेवाग्राहीलाई २४ लाख २४ हजार ३९० रुपैयाँ छुट सुविधा दिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सुजता मैनाली आचार्यले जानकारी दिनुभयो ।

दक्ष जनशक्ति विदेश पलायन भइरहेको, बिरामी उपचारका लागि कष्ट व्यहोरेर अन्यत्र जानु परिरहेको परिस्थितिलाई मध्यनजर गरी आफ्नै ठाउँमा अस्पताल खोलेर सेवा दिनुका साथै रोजगारीसमेत सिर्जना गरौँ भन्ने पवित्र उद्धेश्यले बाल अस्पताल सञ्चालन गरिएको अस्पतालका अध्यक्ष लीला मैनालीले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र अस्पताल भवन रहेको नमूना टोल विकास संस्थाका अध्यक्ष विजयकुमार बुढाथोकीले अस्पतालको सेवा विस्तार गरी थप गुणस्तरीय सेवा प्रवाह गर्न सुझाव दिनुभएको थियो । कार्यक्रमको संचालन संचारकर्मी लिला अनमोलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्