झापा, १९ असार । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका बालबालिकाको शिक्षा पहुँच सुनिश्चित गर्नका लागि घरमा आधारित शिक्षा कार्यक्रम सञ्चालन गरेको छ।
नगरपालिकाको पहलमा अपाङ्गता रोकथाम तथा पुन: स्थापना कार्यक्रम अन्तर्गतको घरमा आधारित शिक्षा बैशाख १२ गतेदेखि सुरु भएको हो, जसमा हाल १६ जना अपाङ्गता भएका बालबालिकालाई शिक्षक राखेर घरमै पढाउने व्यवस्था गरिएको छ।
बिर्तामोड नगरपालिका, करुणा फाउण्डेसन नेपाल र कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको लागत साझेदारीमा कार्यक्रम सञ्चालनमा आएको हो। यसले शिक्षा क्षेत्रमा समावेशिता र पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।
कार्यक्रममा समेटिएका ४ जना बालबालिकाको घरमा पुगेर नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, महिला विकास अधिकृत पुष्पा कार्की, युगकुमारी भट्टराई, कञ्चन बाँस्कोटा, र करुणा फाउण्डेसनकी प्रतिनिधि अनुष्का केसीले अनुगमन गर्नुभएको थियो। बहुअपाङ्गताको आधारमा रातो कार्ड लिएका तीमध्ये ३ जना विद्यालय जान सकेका छैनन्।
बालबालिकालाई क, ख, ABCD, नाम लेख्ने अभ्यास, रङ भर्ने (कलरिङ) लगायतका आधारभूत शैक्षिक सीपहरू सिकाउने काम भइरहेको छ। उनीहरूलाई आवश्यक पर्ने शैक्षिक सामग्री, लेखन सामग्री, कलर, किताब आदि निःशुल्क उपलब्ध गराइएको जनाइएको छ।
नगर उपप्रमुख संग्रौलाले अपाङ्गता भएका बालबालिकाको शैक्षिक हक सुनिश्चित गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। शिक्षा सबैका लागि बराबरी हुनुपर्छ भन्ने कुरामा जोड दिँदै उहाँले कार्यक्रमले सामाजिक समावेशिता र समान अवसरको सुनिश्चितता गर्ने विश्वास व्यक्त गर्नुभयो।