Logo

बिर्तामोड नगरपालिकाद्वारा तीन वटा विधेयक पारित



बिर्तामोड, १४ भदौ । बिर्तामोड नगरपालिकाले विशेष नगरसभा मार्फत तीन वटा विधेयक पास गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सोमबार आयोजित विशेष नगरसभाले विधेयक पास गरेको हो ।

विशेष नगरसभामा आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले पास गरेको हो ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गरेका थिए । यस्तै विधेयक समिति संयोजक शर्मिला राजवंशीले शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन विधेयक २०७९ सभामा प्रस्तुत गरेकी थिइन् ।

विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै सभाकी अध्यक्ष नगरप्रमुख पवित्रा महतारा प्रसाईले कानून अत्यन्त आवश्यक भएकाकारण विशेष सभाबाट पास गरेको र आजकै दिन देखि लागु हुने बताइन् । संविधानले स्थानीय सरकारलाई दिएको अधिकारलाई प्रयोग गर्दै काम गर्नु पर्नेमा उनले जोड दिइन् ।

सभामा बोल्दै वडा नम्बर ६ का वडाध्यक्ष तथा नेपाली कांग्रेस बिर्तामोड नगर कमिटीका कार्यवहाक सभापति सूर्यप्रसाद कन्दङ्वाले नगरको विकासको लागि नगरका जनताको हितमा विशेष नगरसभा मार्फत विधेयक पास गरेको बताए ।

बिर्तामोड नगरपालिकाको भदौ १० गते बसेको कार्यपालिका बैठकले पास गरेर सोमबार विशेष नगरसभामा विधेयक प्रस्तुत गरिएको हो । कार्यपालिका बैठकले अस्पताल सञ्चालन कार्यविधि २०७९, अनुगमन समिति सञ्चालन कार्यविधि २०७९, लेखा समिति सञ्चालन व्यवस्थापन कार्यविधि २०७९ र शहरी वस्ती विकास योजना तथा भवन निर्माण मापदण्ड र इजाजत सम्वन्धि कार्यविधि २०७९ पारित गरेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्