झापा, ११ असार । बिर्तामोड नगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म ७२ वटा मुद्दा फर्छौट गरेको छ ।
अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका २२ सहित १ सय १२ वटा मुद्दा दर्ता भएकोमा ७२ वटा मुद्दा फर्छौट भएको न्यायिक समितिले जारी गरेको प्रतिबेदनमा उल्लेख गरीएको छ ।
बिर्तामोड नगरपालिका न्यायिक समिति अन्तर्गत १० वटै वडामा मेलमिलाप केन्द्र स्थापना भई न्यायिक निरुपण हुदै आएको छ ।
वडामा गठित मेलमिलाप केन्द्रबाट पनि उल्लेख्य रुपमा मेलमिलापको माध्यमबाट न्यायिक निरुपण भएको समितिको प्रतिबेदनमा उल्लेख गरीएको छ ।
जस अन्तर्गत वडा नं. एकमा ६४ वटा मुद्दा दर्ता भएकोमा ३३ वटा फर्छौट भएका छन् । त्यस्तै वडा नं. दुईमा ८६ वटा मुद्दा दर्ता भएकोमा ७२ वटा फर्छौट भएका छन् । वडा नं. तीनमा ६७ वटा मुद्दा दर्ता भएकोमा ६० वटा फर्छौट भएको जनाईएको छ ।
यसैगरी वडा नं. चारमा ५७ वटा मुद्दा दर्ता भएकोमा ३२ वटा फर्छौट भएका छन् । वडा नं. पाँचमा ३५ वटा मुद्दा दर्ता भएकोमा २६ वटा फर्छौट भएका छन् । त्यस्तै वडा नं. छमा ३९ वटा मुद्दा दर्ता भएकोमा २२ वटा फर्छौट भएका छन् ।
वडा नं. सातमा २९ वटा मुद्दा दर्ता भएकोमा २२ वटा फर्छौट भएका छन् । यस्तै वडा नं. आठमा २९ वटा मुद्दा दर्ता भएकोमा २० वटा फर्छौट भएका छन् । वडा नं. नैंमा २१ वटा मुद्दा दर्ता भई १५ वटा फर्छौट हुुदा वडा नं. दशंमा ४४ वटा मुद्दा दर्ता भएकोमा ३२ वटा मुद्दा फर्छौट भएका छन् ।
वडामा गठित विभिन्न मेलमिलाप केन्द्रबाट जम्मा ६४ वटा मुद्दा न्यायिक समितिमा प्रेषण भएका छन् ।
पिछडिएका र तल्लो बर्गका मानिसलाई समेत न्यायमा सहज पहुँच र विवादको दिगो समाधानका लागि न्यायिक समिति एउटा उत्तम विकल्प बनेको न्यायिक समितिका संयोजक एवं बिर्तामोड नगरपालिकाका उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनुभयो ।
ऐनले तोकिएको क्षेत्राधिकार भित्र रहि स्थनीय स्तरमा उत्पन्न विवादहरुको स्थनीय स्तरमा नै समाधान गरि विवादित दुबै पक्षलाई जित जितको महसुस गराई, कानूनी उपचारमा खर्च कम गराउन, समयको बचत गराउन, निम्न स्तरसम्म न्यायको पहुँच पुर्याउन, अनावश्यक झन्झटलाई हटाई समाजमा स्वच्छ र सुमधुर सामाजिक सम्बन्ध कायम राख्ने उदेश्यका साथ न्यायिक समितिले न्यायिक निरुपण गर्दै आएको संयोजक संग्रौलाले बताउनुभयो ।