Logo

बिर्तामोड नगरपालिकाले बाढीबाट विस्थापित परिवारलाई आवश्यक प्रवन्ध मिलाउने



बिर्तामोड, १४ असार । बिर्तामोड नगरपालिकाले बाढीबाट विस्थापित घरपरिवारलाई खाद्यन्न, स्वास्थ्य उपचार, पिउने पानी र सुरक्षीत आश्रय स्थलको आवश्यक प्रवन्ध मिलाउने भएको छ ।

नगरप्रमुख तथा विपद व्यवस्थापन समिति संयोजक पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार नगरपालिकाको कार्यालयमा बसेको बिर्तामोड नगर विपद व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सो बैठकले अविरल वर्षाका कारण बिर्तामोड नगरका अधिकांस क्षेत्र डुवानमा परी ठुलो जनधनको क्षति हुन सक्ने संभावना रहेकोले रोकथाम र नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ ।

त्यस्तै बैठकले डुवान तथा कटान भई क्षति हुन सक्ने जोखिम क्षेत्रको पहिचान गर्ने, जोखिम युक्त स्थानमा वसोवास गर्ने परिवारलाई सुरक्षित रहन पूर्व सूचना प्रवाह गर्ने, दैनिक हुने क्षतिको विवरण वडा कार्यालय मार्फत प्राप्त गर्ने व्यवस्था मिलाउने, डुवान र कटानलाई तत्काल रोक्न आवश्यक सामाग्रीहरुको पूर्व तयारी राख्ने, पूर्व तयारीको लागि ऐनमा भएको व्यवस्था वमोजिम वडा स्तरिय विपद व्यवस्थापन समिति गठन गरि त्यसको अनुगमन गर्न वडालाई निर्देशन गर्ने, अत्यावश्यक समयमा नगरमा रहेका जेसीवीबाट मात्र सेवा दिन सम्भव नभएकोले वडाध्यक्षले जेसीवीको व्यवस्थापन गर्ने र त्यसमा आएको खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले विपद व्यवस्थापनको फोकल पर्सन समेत तोकेको छ । बिर्तामोड नगरपालिकाका अधिकृत (छैटौँ) मेघराज बास्तोलालाई विपद व्यवस्थापनको फोकल पर्सन तोक्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्