Logo

बिर्तामोडकी विष्णुकुमारी विष्टको हत्यामा संलग्न पाँचजना सार्वजनिक



झापा, १७ जेठ । झापा बिर्तामोड–४ कालिका नगर निवासी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड–४ शिवनगरका २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया वर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र ४३ वर्षीय धनबहादुर कामी छन्।

पक्राउ परेका उनीहरूले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको छ। प्रहरीकाअनुसार यस घटनामा मुख्य अभियुक्त गंगा प्रसाद छन्। महेश उनका सहयोगी हुन्।

उनीहरू चोरी गर्न भनेर करिब ११ बजेतिर विष्णुमायाको घर पुगेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिनुभयो। तर त्यतिबेला उनीहरूले चोरी गर्न सकेनन्। विष्णुमायाले चोर आएको चाल पाएपछि काठमाडौंमा रहेका छोरा प्रकाशलाई फोन गरी जानकारी गराएका थिए।

‘चोर आयो भनेर फोनमा कुरा गरेको गंगाप्रसादले सुनेका थिए। त्यसपछि उनी घरबाट हामफालेर भागे। महेशले पनि मार्तोल झाडीमा फ्याँकेर भागेका थिए,’ डिएसपी चन्दले भन्नुभयो, ‘त्यसपछि छिमेकीहरू आएर हेरेका थिए।’

छिमेकीहरू आएपछि गंगाप्रसाद नजिकै मकै घारीमा लुक्न गएका थिए। अन्दाजी पौने १२ बजेतिर छिमेकीहरू फर्किएका थिए।त्यसपछि गंगाप्रसाद चोरी गर्न पुनः पछाडिबाट घर छिरेका थिए।

महेश भने घरको कम्पाउण्ड बाहिरै करिब एक घन्टा कुरेर बसेको अनुसन्धानबाट खुलेको डिएसपी चन्दले वताउनुभयो । सवा १२ बजेतिर विष्णुमाया शौचालय जान उठेकी थिइन्। बाहिरको बत्ती बालेर शौचालय निस्किएको थाहा पाएपछि गंगाप्रसाद रड बोकेर कोठामा छिरेर खाट मुनी लुकेका थिए।

करिब एक घन्टासम्म उनी त्यहीँ लुकेर बसेका थिए। विष्णुमाया कोठामा फर्किएर सुत्न खोज्दा गं‌गाप्रसाद त्यहाँबाट निस्किन खोजेका थिए तर विष्णुमायाले चाल पाइहाले। फेरि चोर आयो भन्दै गुहार मागेपछि गंगाप्रसादले रडले तीन पटक प्रहार गरी विष्णुमायाको हत्या गरेको डिएसपी चन्दले वताउनुभयो।

विष्णुमायाको घरमा रहेको सुनको बाला, सुनका सिक्का भएको औंठी, सुनको जन्तर, उनले लगाएको सिक्री, कानमा लगाउने सुनको टप र चाँदीको कलश चोरी गरी गंगाप्रसाद भागका थिए। डिएसपी चन्दका अनुसार चोरी गरिसकेपछि गंगाप्रसाद पौने ३ बजेतिर घरबाट निस्किएका थिए।

हत्या गरेपछि चोरी गरी ल्याएको सुनका सामान वर्षाले लुकाएकी थिइन्। त्यसपछि गंगाप्रसादले ती सुनका गहना बेच्न ज्याक भन्ने भगरथ माझीसँग सहयोग लिएको अनुसन्धानबाट खुलेको छ। ती चोरीका गरगहना धनबहादुरले किनेका थिए।

यसको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड र केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटिएको थियो। पक्राउ परेका पाँच जनामाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्