Logo

बिहानी समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने



काठमाडौं, १३ फागुन ।  बिहानको समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । दिनभर कफी पिउने मानिसको तुलनामा बिहान कफी पिउने व्यक्तिमा मुटुसम्बन्धी रोगबाट ज्यान जाने जोखिम कम रहेको पाइएको अध्ययनलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

साथै दिउँसो कफी पिउनेहरूको तुलनामा बिहान कफी पिउनेहरूमा मृत्युको जोखिम कम रहेको पाइएको छ । तर यस अध्ययनमा कफी नै यसको कारण हो भन्ने प्रमाणित हुन नसकेको खबरमा उल्लेख छ ।

ट्युलेन युनिभर्सिटी ओबेसिटी रिसर्च सेन्टरका निर्देशक तथा अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. लु चीले अध्ययनले बिहान कफी पिउनाले मृत्युको जोखिम किन कम गर्छ भन्ने कुरा भने नखुलाएको बताउनुभयो ।

दिउँसो वा साँझमा कफी पिउनाले ‘सर्काडियन’ लय अर्थात् हाम्रो शरीरमा हुने शारीरिक, मानसिक र व्यवहारमा हुने परिवर्तनको २४ घण्टाको चक्र र मेलाटोनिन जस्ता हर्माेनको स्तरमा बाधा पुग्न सक्ने अध्ययनको सम्भावित व्याख्या छ । यसले हृदय रोगको जोखिम कारकहरूमा परिवर्तन निम्त्याउने अनुसन्धानकर्ताले बताएका छन् ।

यो अध्ययन युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको छ । डा. चीले अध्ययनको निष्कर्ष अन्य मानिसहरूका लागि सही छ कि छैन भनेर हेर्न थप अनुसन्धान आवश्यक रहेको उल्लेख गर्नुभयो । कफी पिउने समय परिवर्तनको सम्भावित प्रभाव बुझ्नका लागि क्लिनिकल परीक्षणहरू सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

न्यु अर्लिन्सको टुलेन युनिभर्सिटीका अन्वेषकहरूले सन् १९९९ र २०१८ को बीचमा अमेरिकामा राष्ट्रिय स्वास्थ्य र पोषण परीक्षा सर्वेक्षणमा भाग लिने ४० हजार सात सय २५ जना वयस्कहरूमा अध्ययन गरेका थिए ।

उनीहरूलाई दैनिक खानेकुरा र पेय पदार्थहरूका साथै कफी कहिले र कति पिउने भनेर सोधिएको थियो । अध्ययनका अनुसार ३६ प्रतिशत सहभागीहरूले बिहान कफी पिउने र १४ प्रतिशतले बिहानको सट्टा दिनको कुनै पनि समयमा कफी पिउने बताएका थिए ।

डा. ची र उहाँको टोलीले झन्डै एक दशकसम्म सहभागीहरूलाई पछ्याउँदै उनीहरूको मृत्युको कारणबारे जानकारी लिएका थिए । झन्डै १० वर्षपछि चार हजार दुई सय ९५ जनाको मृत्यु भएको थियो जसमध्ये एक हजार दुई सय ६८ जनाको मृत्यु मुटुसम्बन्धी रोगको कारण थियो ।

अनुसन्धानकर्ताहरूले बिहानको कफी पिउनेहरूमा कफी नपिउनेहरूको तुलनामा हृदय रोगबाट ज्यान गुमाउने सम्भावना ३१ प्रतिशतले कम हुने पत्ता लगाए ।

प्रतिक्रिया दिनुहोस्