काठमाडौँ, २ फागुन । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम भोलिदेखि क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार बिहीबारदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले जानकारी दिए ।
उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमश: पूर्वीभेगतिर सरिरहेकाले आज रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार मधेश प्रदेशका एक/दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको छ ।
आज रातिको समयमा कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।






