Logo

बीआरआईमा चीनको चासो छ: गृहमन्त्री



काठमाडौँ, १७ असार । पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन् ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ पाँचदिने चीन भ्रमण सकेर आइतवार स्वदेश फर्किएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष पत्रकार सम्मेलनमा बोल्दै चीन भ्रमण फलदायी भएको बताए ।

उनले भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको बताए ।

उनले चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सरकात्मक रहेको बताए । चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको पनि उनले बताएका हुन् ।

उनले व्यापारिक नाका खोल्ने र नेपाल-चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको बताए । चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको बताएका छन् ।

उनले नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यन्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुङ्गो लगाउने बताए । उनले नेपाल चीनसँग भएको बीआरआई सम्झौताले लाभान्वित हुने विश्वास लिएको बताएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको बताए । उनले सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु-काठमाडौँ रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान शुरू गर्न आग्रह गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्