Logo

बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो: डा.महत



काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले बीपी कोइराला गतिशील व्यक्तित्व भएको बताएका छन् ।

बीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा मन्त्री डा.महतले त्यत्ति ठूलो व्यक्तित्व भएका बीपीबाट सिक्ने कुरा धेरै रहेको बताए ।

मन्त्री डा.महतले बीपीले कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेरलगायत अरु नेता र जनताको पनि कुरा सुन्ने गरेको स्मरण गरे । “बीपी कोइरालाको ४१ औं स्मृतिमा यही कुरा नै उहाँबाट प्रेरणा लिन सकिन्छ । कांग्रेसले अध्ययन गर्ने बानी विकास गर्न जरुरी छ । बीपीका धेरै साहित्यिक कृति छन्, त्यसको कांग्रेसले पुन: प्रकाशन गरेर गाउँगाउँमा पुर्याउन जरुरी छ,” डा.महतले भने ।

बीपीको सिद्धान्त कांग्रेसले छोड्यो भन्ने कुरामा सत्यता नरहेको उनले बताए । उनले भने, “हाम्रो लक्ष्य बीपीको विचारमा आधारित प्रजातान्त्रिक समाजवाद हो, लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा समतामूलक समाज निर्माण गर्ने र समृद्धिसहितको समानता निर्माण गर्नु हो ।”

लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा समृद्धिसहितको समानता कांग्रेसको लक्ष्य भएको उनको भनाइ छ । “एक थोपा दूध होइन, एक-एक ग्लास दूध । यसको अर्थ उत्पादन बढाउ भन्नुभएको हो । एक एक थोपाको कुनै अर्थ रहँदैन, यसले कसैलाई न्यूट्रेशन पुग्दैन, कम्तीमा एक-एक ग्लास दुध पुग्नुपर्छ,” उनले भने, “उत्पादन बढाइयो भने मात्र एक-एक ग्लास बाँड्न सकिने उदाहरण बीपीले दिनुभएको हो ।”

‘सत्यको मुख बन्द भयो भने झुटोको थुतुनो चल्छ’ बीपीको यो भनाइबाट सम्बोधन सुरु गरेका डा.महतले भने, “नयाँ पार्टी भनेर आइरहेका छन्, एउटा सानो के गरेका छन्, त्यसलाई भिडियो खिचाएर आधा सेकेन्डको काम देखाइरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस्