बुटवल, १४ जेठ । बुटवल उपमहानगरपालिका–११ होराइजन चोकमा आमासहित दुई नाबालक छोरीको विभत्स हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमानी ढकालको हत्या भएको हो ।
हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइराला रहेका छन् । प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन् ।
दीपाले सुजनसँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन् ।
हत्या अभियोगमा पक्राउ परेका कोइरालालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ। उनी यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल चलान भएका थिए। तर, संविधान दिवसको अवसरमा सरकारले दिएको माफीनामा अन्तर्गत रिहा भएका थिए।
दीपाले सुजनसँग सम्बन्ध विच्छेद गरी नवलपरासीका शंकर ढकालसँग विवाह गरेकी थिइन्। सुजनले दीपालाई मङ्गलवार आफ्नै घरमा बोलाएर बुधवार बिहान हत्या गरेको प्रहरीले जनाएको छ।
तीनै जनाको शव घन र चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सुजन र दीपा पूर्व पतिपत्नी भए पनि हत्या गरिएका बालिकाहरू भने शंकर ढकालतर्फका रहेको प्रहरीले जनाएको छ।