पोखरा, २८ कात्तिक । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ ।
बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो ।
“नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने जानकारी दिएको छ”, कम्पनीले भनेको छ, “त्यहाँबाट हुने पहिलो उडानका रुपमा बुद्ध एयरले पोखरा-बनारस-पोखरा उडान गर्नेछ ।” पोखरा-बनारस-पोखराको उडान सातामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार हुने कम्पनीको भनाइ छ ।
एयर ट्राफिक रुटका लागि नेपाल सरकारले भारत सरकारसमक्ष पहल गरिरहेको भन्दै भारत सरकारबाट रुट र स्लट प्राप्त भएपछि पोखरा-दिल्ली-पोखरा रुटमा दैनिक दुई उडान गरिने कम्पनीको भनाइ छ ।
कम्पनीले पोखरा-देहरादुन-पोखरा रुटमा सातामा तीन वडा उडान गर्ने जानकारी दिएको छ । हाल बुद्ध एयरले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बनारसमा उडान गर्दै आएको छ ।