Logo

बुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन



बिर्तामोड, ८ असार । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ मा रहेको बुधबारे हटिया बजारका बारेमा उत्पन्न समस्या समाधानको लागि कार्यदल गठन गरेको छ ।

मंगलबार बसेको कार्यपालिका बैठकले कार्यदल र सल्लाहकार समिति गठन गरेको हो ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित कार्यदलमा वडा नम्बर ५का वडाध्यक्ष रोहित प्रसाई र पूर्व जनप्रतिनिधि गोपीचन्द्र गिरी सदस्य रहेका छन् ।

यस्तै सल्लाहकार समिति पूर्व अनारमनि गाविस अध्यक्ष हर्कलाल गिरीको संयोजकत्वमा पूर्व अनारमनि गाविस उपाध्यक्ष लोकवन्धु कन्दङ्गवा र वडा नम्बर ५का पूर्व वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन सदस्य रहनेगरि समिति गठन गरीएको छ । समितिले एक महिना भित्रमा प्रतिवेदन बुझाउने गरि निर्णय गरीएको छ ।

त्यस्तै कार्यपालिका बैठकले नगरप्रमुख पवित्रा महतारा प्रसाई माथि भएको अशोभनिय एवं अराजक गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । असार ६ गते कार्यपालिका सहित सर्वदलिय बैठकमा बुधबारे हटियाको विषयमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले देखाएको व्यवहार प्रति नगरको ध्यानाकर्षण भएको जनाइएको हो । अब उप्रान्त कतैबाट यस प्रकारका अराजक गतिविधि दोहोरिएमा कानुन अनुसार कार्वाहि गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउने समेत निर्णयमा उल्लेख गरीएको छ ।

त्यसैगरी मंगलबार बसेको कार्यपालिकाको बैठकले राजश्व परामर्श समिति गठन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ वमोजिम समिति गठन गरीएको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित यस समितिमा वडाध्यक्ष अग्निप्रसाद पाण्डे, रोहित प्रसाई र कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्मा सदस्य रहेका छन् ।

त्यस्तै बैठकले विभिन्न ६ वटा विषयगत समिति समेत गठन गरेको छ । जसमा पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद व्यवस्थापन समिति, सामाजिक विकास समिति, विधेयक समिति र सार्वजनिक सेवा तथा क्षमता विकास समिति रहेका छन् ।

पूर्वाधार विकास समितिको संयोजकमा कार्यपालिका सदस्य जगतबहादुर राजवंशी र सदस्यहरुमा वडाध्यक्ष अजय कार्की र किशोर पौडेल रहेका छन् । यस्तै आर्थिक विकास समितिको संयोजकमा कार्यपालिका सदस्य संगिता सिवा र सदस्यहरुमा वडाध्यक्ष राहुल शर्मा, कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्मा चयन भएका छन् । यस्तै वडाध्यक्ष दुर्योधन गुरुङ्गको संयोजकत्वमा वातावरण तथा विपद व्यवस्थापन समिति गठन गरीएको छ । यस समितिको सदस्यहरुमा वडाध्यक्ष रोहित प्रसाई र कृष्णप्रसाद खरेल रहेका छन् ।

त्यसैगरी कार्यपालिका सदस्य यमुना आचार्यको संयोजकत्वमा सामाजिक विकास समिति गठन गरीएको छ । यस समितिको सदस्यहरुमा कार्यपालिका सदस्य तिला गौतम र निर्मला सुनार रहेका छन् । यस्तै विधेयक समितिको संयोजकमा शर्मिला राजवंशी र सदस्यहरुमा वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा,मदन बुढाथोकी रहेका छन् । यसैगरी सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा कार्यपालिका सदस्य लक्षिमा खतिवडा र सदस्यमा वडाध्यक्ष हरिप्रसाद चौलागाई, निर्मला सुनार चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्