काठमाडौँ, १३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि काठमाडौँ उपत्यकामा नयाँ उम्मेदवार ल्याउने तयारी गरेको बताएका छन् ।
सोमवार काठमाडौँमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पालिका चुनाव सेन्टिमेन्टले जितेको दाबी गर्दै माओवादी केन्द्रले पनि बालेन्द्रले भन्दा चर्को सेन्टिमेन्टको उपाय खोजिरहेको बताए ।
कार्यक्रममा बोल्दै उनले आउँदो चुनावका लागि गठबन्धनभित्रको सिट बाँडफाँट बुधवारसम्म टुङ्गो लगाउने बताए । उनले तीन चरणमा सिटको भागबन्डा हुने दाबी गरेका हुन् ।
भदौ १५ गतेसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निष्कर्ष निकाल्ने र २५ गते आ-आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुङ्गो लगाइसक्ने उनको भनाइ थियो ।







