Logo

बुबाको बेहोसीले छोरीको ज्यान गयो



सांकेतिक तस्बिर

बागलुङ, २४ साउन । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी १५ महिने छोरी अनामिकालाई शनिबार अपराह्नतिर जङ्गलमा छाडेको चौबिस घण्टापछि फेला परे पनि उपचारको क्रममा उनको मृत्यु भएको छ । शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जङ्गलमा भेटिएकी थिइन् ।

उद्धारपछि अस्पताल ल्याउँदा नल्याउँदै अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिए । अनामिकाको आइतबार बेलुका धवलागिरि अस्पतालमा निधन भएको थियो । त्यसअघि बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पु¥याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो । “बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन्, श्वास पनि राम्रै फेरेझैँ लाग्थ्यो”, गौतमले भने, “अस्पतालमा ल्याएको केही समयमै डाक्टरले मृत घोषणा गरे ।”

उद्धारमा पुगेका बेनी–१ का वडा सदस्य ताराप्रसाद थापाले गाउँलेले रोएको सुनेपछि बालिका फेला परेको सुनाए । उनले भने, “अर्जमदेखि खबरा जाने सडक नजिक गैँडाराको जङ्गलमा भेटिएकी थिइन्, झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो तर भित्र गम्भीर असर गरिसकेको रहेछ ।”

रुँदै घस्रेर कतै जान खोजेको अवस्थामा आफन्त र गाउँले मिलेर अनामिकाको उद्धार गरेका थिए । रातभरको वर्षाले पनि उनलाई नराम्रोसँग चुटेको वडा सदस्य थापाले बताए । त्यहीँमाथि उनले पानीसम्म खान पाइनन् । छिट्टै भेटिएर उद्धार हुन सकेको भए अनामिकाको ज्यान जोगिने थियो ।

परिवारजनका अनुसार काममा गएकी आमा सरस्वतीसँग दूध खुवाउन भन्दै दीपकले छोरी अनामिकालाई लिएर घरबाट हिँडेका थिए । त्यस दिन छोरीलाई श्रीमान्को साथ लगाएर सरस्वती काममा गएकी थिइन् ।

परिवारको गर्जो टार्न काखकी छोरी घरमै छाडेर मेलापात जानु उनको नियति नै हो । तर माया र विश्वास गरेको श्रीमान्ले छोरीलाई त्यसरी अनकन्टार जङ्गलमा लगेर छोड्ने कुरा सरस्वतीका लागि सोच्नसम्म नसकिने कुरा थियो, अफसोच त्यही भइदियो ।

‘मानसिक स्वास्थ्यमा देखिएको असहज अवस्था’का कारण दीपकले त्यस्तो गम्भीर र अस्वाभाविक व्यवहार देखाएको स्थानीयवासीले बताएका छन् । छोरीसहित घरबाट हिडेका उनी सम्पर्कविहीन भएपछि खोजतलास गर्ने क्रममा निर्वस्त्र अवस्थामा रत्नेचौरमा भेटिएका थिए ।

“निर्वस्त्र अवस्थामा भेटाएपछि प्रहरी कहाँ ल्याएर छोरी कहाँ छिन्भन्दा पनि केही बोलेनन्, ठाउँ भनेको भए बचाउन सकिन्थ्यो, उनले किन त्यसो गरे, हामी पनि अचम्ममा परेका छौँ”, गौतमले भने, “छोरीलाई मार्ने नै उद्देश्य त पक्कै थिएन होला, भिरपहराको बाटो जोगाउँदै लगेर जङ्गलमा एक्लै छोडेको देखिन्छ ।”

बुबाको बेहोसी र अनियन्त्रित आवेगका कारण कल्कलाउँदो छोरीले ज्यान गुमाउनुपरेको घटनाले गाउँछिमेकका धेरैलाई दुःखी बनाएको छ । छोरी बितेपछि सरस्वती विक्षिप्त बन्नुभएको छ । परिवार र आफन्तजन कानूनी प्रक्रिया पु¥याएर शव परीक्षणको पखाईमा छन् । दीपक भने प्रहरी नियन्त्रणमा छन् ।

स्थायी घर पर्वतको जलजला गाउँपालिका–४ मा भए पनि बोहोरा परिवार अहिले ज्याला मजदुरीका लागि पुख्र्यौली गाउँमा बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्