बाजुरा, २३ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान सकिएको छ ।
चुनावमा ६६ दशमलव ७५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको बाजुराका जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र थापाले जानकारी दिए ।
दिउँसो केहीबेर विवाद भए पनि पछि सामान्य तरिकाले नै मतदान सम्पन्न भएको उनले बताए । आज बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । मतदान सकिएपछि अहिले मतपेटिका सङ्कलन गर्ने काम भइरहेको छ ।
केहीबेरमा सर्वदलीय बैठक बसेर अबको एक-दुई घण्टामा स्थानीय भानु माध्यमिक विद्यालयमा मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी थापाले बताए ।
गएको वैशाख ३० मा यहाँ पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले फेरि आज चुनाव गर्ने निर्णय गरेको थियो ।