Logo

बेगनासमा मोटरबोट रोक्न उच्चको परमादेश



लेखनाथ, भदौ २८ गते । कास्कीको पोखरा महानगरपालिकामा रहेको बेगनास तालमा मोटरबोट चलाउन रोक्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डे र राजकुमार खतिवडाको संयुक्त इजलाशले बिहीबार बेगनासमा चलिरहेको मोटरबोट रोक्न विपक्षीहरुको नाममा परमादेश जारी गरेको हो ।

अदालतले बेगनास ताल संरक्षण गर्न, वरिपरिबाट भएको अतिक्रमणबाट रोक्न, वातावरणीय प्रदूषणबाट रोक्नसमेत आवश्यक काम गर्नू/गराउनू भनी गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र ताल प्राधिकरणको नाममा आदेश पनि जारी गरेको छ । रिट निवेदकको तर्फबाट अधिवक्ता मनोज घर्तिमगर र वरिष्ठ अधिवक्ता हरि सुवेदीले बहस गर्नुभएको थियो ।

अधिवक्ता मनोज घर्तीमगरले बेगनासमा मोटरबोट बन्द गर्न परमादेशसहित अन्तरिम आदेश माग गर्दै गएको माघ १० गते मुद्दा दायर गर्नुभएको थियो । उच्चले माघ २५ गते तत्काल मोटरबोट सञ्चालन रोक्न अन्तरिम आदेश दिएको थियो ।

डुङ्गा व्यवसायी समितिले ५२ लाख रूपियाँ खर्चेर मोटरबोट सञ्चालनमा ल्याएको थियो । मोटरबोटले वातावरण, जलचर र जलारीलाई असर पारेको भन्दै स्थानीयले महानगरको ध्यानाकर्षण गराएका थिए । समितिले भने विपदमा मोटरबोट प्रयोग गर्ने जनाउँदै आएको छ । बेगनासतालमा साढे तीन सय हाराहारी काठका डुङ्गा व्यवसायिक रुपमा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्