मुस्ताङ, २४ साउन । गत शनिबार रातिदेखि अवरुद्ध बेनी-जोमसोम सडक आजसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन् ।
रघुगङ्गा गाउँपालिका-१ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा-३ बैसरीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा आएका भारतीय, तेस्रो मुलुकका पर्यटकलगायत यात्रु बीच बाटोमा नै अलपत्र परेका छन् । स्थानीयले दिएको जानकारीअनुसार भारत र तेस्रो मुलुकबाट आएका ५६ पर्यटक बेनी फर्कने वा पहिरो पार गरेर मुस्ताङ जाने भन्ने अन्योलमा छन् ।
शनिबारदेखिको अविरल वर्षाले सडकको सिरानबाट आएको पहिरोका कारण बेनी-जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको बैसरीमा सडक अवरुद्ध भएको हो । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेका कारणले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री तथा सवारी साधनलाई समस्या भएको हो ।
बैसरीमा दैनिकजसो खस्ने पहिरोले बेनी-जोमसोम सडकको यातायात सेवा प्रभावित हुने गरेको छ । सडक माथिबाट खस्ने पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो ।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले सास्ती खेप्दै लामो समय सडकमै बस्नुपरेको छ भने समयमा गन्तव्यमा पुग्न पाएका छैनन् । सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ ।







