गलेश्वर, २८ साउन । शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण बेनी-दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ ।
बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बाङ्गेभिरमा पहिरो गएकाले सडक अवरुद्ध भएका हो । पहिरो खसिरहेकाले सडक खुलाउने प्रयास असफल भएको प्रहरीले जनाएको छ ।
म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी-दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका तातोपानीका व्यवसायी हितबहादुर पुनले बताए ।
अठार वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिराको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका-६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।
यसैगरी पश्चिम म्याग्दीका ग्रामीण सडक पनि अवरुद्ध भएका छन् । शनिबारदेखि लगातार पानी परिरहेकाले पश्चिम म्याग्दीको दरवाङ-बिम सडकबाहेक अन्य सडक अवरुद्ध हुँदा यात्रीले सास्ती भोग्नुपरेको मालिका गाउँपालिका-२ रुमका बेलबहादुर विकले जानकारी दिए ।
बेनी-दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । “सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, अध्यक्ष रोकाले भने, “म्याग्दी नदीको किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।” उनका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।
पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए ।
सडक अवरुद्ध भएपछि पश्चिम म्याग्दीबाट सदरमुकाम बेनी हुँदै देशका विभिन्न ठाउँमा जाने यात्रु र यातायातका साधन सञ्चालन हुनसकेका छैनन् । देशका विभिन्न ठाउँबाट पश्चिम म्याग्दीका लागि आएका यातायातका साधन बीचबाटोमै अलपत्र परेका यातायात व्यवसायीले बताएका छन् ।







