Logo

बेनी-भकिम्ली सडक चार महिनापछि सञ्चालनमा



म्याग्दी, १५ असोज । गएको जेठ अन्तिम हप्तादेखि पहिरोका कारण अवरुद्ध बनेको बेनी–भकिम्ली सडक चार महिनापछि पूर्णरुपमा सञ्चालनमा आएको छ ।

म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी-भकिम्ली सडक चार महिनापछि शुक्रवारदेखि सञ्चालनमा आएको हो । यसअघि सामान्य मर्मत गरिए पनि सडक नियमित सञ्चालनमा आउन सकेको थिएन ।

सदरमुकाम बेनीबाट दूधेखोला-हलेगौडा-डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडक खण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने ठाउँमा पहिरोले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो । ‘अब ठूला गाडी पनि नियमित आवतजावत गर्न मिल्छ, बाटो अवरुद्ध हुँदा भकिम्लीवासीले धेरै सास्ती खेप्नुपरेको थियो’, भकिम्लीका युवा याम घर्तीमगरले भने ।

उनका अनुसार बर्खा लागेपछि केही समय मोटरसाइकल मात्रै आवतजावत गर्ने बाटो बनाइए पनि लगातारको बाढीपहिरोले बगाएपछि भकिम्लीवासीले पैदल मार्गको प्रयोग गरी सदरमुकाम बेनीसम्म जानुपर्ने बाध्यता थियो । पहिरोले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण मार्गको प्रयोग गर्न बाध्य भएका छन् । बेनीनगरपालिका र स्थानीयले श्रमदान गरेर खोल्ने प्रयास गरे पनि असफल भएपछि अलपत्र अवस्थामा रहेको सडक मर्मत सम्भारका लागि कृष्ण छन्त्यालको अध्यक्षतामा उपभोक्ता समिति बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्