पथरी, २४ कात्तिक । मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौँ संस्करणको बुधबार भएको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको उपाधि एपिएफ काठमाडौँले चुमेको छ । राजारानी धनकुटालाई १–० गोलअन्तरले स्तब्ध पार्दै एपिएफले उपाधि चुमेको हो ।
एपिएफका लागि खेलको ४८ औँ मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । पहिलो हाफ गोलरहित बराबरी खेलेको राजारानीले दोस्रो हाफमा गोल खान पुग्यो ।
खेलको म्यान अफ द म्याच गोलकर्ता कार्की घोषित भए भने बेष्ट गोलकिपर एपिएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । खेलको बेष्ट डिफेन्स पिटर सैगुन, बेष्ट मिडफिल्डर मनि लामा (एपिएफ), बेष्ट स्ट्राइकर बुद्घ चेम्जोङ (राजारानी), बेष्ट कोच सुदीप श्रेष्ठ (एफिएफ), राइजिङ प्लेयर कासिम राई (आयोजक डाँगीहाट), हाइस्कोर फोडे फोफोना (सहलेस सिरहा) र सर्वोकृष्ट खेलाडी टोपबहादुर विष्ट (एपिएफ) घोषित भए ।
प्रतियोगिताको विजेता एपिएफले नगद रु आठ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता राजारानी क्लब धनकुटाले नगद रु चार लाख एक हजार पुरस्कार प्राप्त ग¥यो ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई रु १५–१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ । म्यान अफ द म्याचले रु पाँच हजार प्राप्त गरे । प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरेर १० वटा टिम सहभागी थिए ।