
इजराइल, २ कात्तिक । इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच इजराइली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजराइलसँग ऐक्यबद्धता प्रकट गर्न बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीबार तेल अविव आइपुगेका छन् ।
प्रधानमन्त्री सुनकले अक्टोबर ७ मा इजराइलमा भएको रकेट हमलामा इजराइल र गाजामा भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्ने र आफ्ना इजराइली समकक्षी बेन्यामिन नेतान्याहु र इजराइली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट्ने उनको कार्यालयले जनाएको छ ।
“प्रत्येक नागरिकको मृत्यु एउटा त्रासदी हो र हमासको भयानक आतङ्कवादी क्रियाकलापपछि धेरै मानिसको मृत्यु भएको छ”, रोयटर्सका अनुसार तेल अविव भ्रमण गर्नुअघि प्रधानमन्त्री सुनकले एक विज्ञप्तिमा भनेका छन् ।
यसका अतिरिक्त प्रधानमन्त्री सुनकले चाँडोभन्दा चाँडो गाजामा मानवीय सहायता पठाउन अनुमति दिन र गाजामा फँसेका बेलायती नागरिकहरूलाई बेलायत प्रस्थान सम्भव बनाउन मार्ग खोल्न आह्वान गर्ने पनि रोयटर्सले जनाएको छ ।







