चीन, १६ मंसिर । चीनले बेलायती सांसदहरुको एक टोलीले ताइवान भ्रमण गरेकोमा आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप भन्दै आपत्ति जनाएको छ ।
उसले चिनियाँ हितलाई अवमूल्यन गर्ने कुनै पनि गतिविधिको सशक्त जवाफ दिइने चेतावनी समेत दिएको छ ।
बेलायती संसदको विदेशमामिला समितिका सदस्यहरुको एक टोली हाल ताइवान भ्रमणमा छ । मंगलबार ताइवान पुगेको सो टोली उच्च राजनीतिक भेटघाटमा व्यस्त छ ।
टोलीले बिहीबार ताइवानका प्रधानमन्त्री सु सेङ्ग चाङ्गसँग भेटेको छ भने आज राष्ट्रपति साई इंग वेनसँग भेट्ने कार्यक्रम छ ।
बेलायतस्थित चिनियाँ दुतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै बेलायती सांसदहरुको उक्त भ्रमण बेलायतले अंगिकार गर्दै आएको एक चीन नीतिको खुला उल्लंघन भएको जनाएको छ ।
गत अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको विवादास्पद भ्रमण गर्दा चीन निकै आक्रोशित भएको थियो ।







