काठमाडौं, २३ मंसिर । इंग्लिस मिडफिल्डर जुड बेलिङहमको उच्च प्रदर्शनमा जिरोनामाथि सहज जित दर्ता गर्दै रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको छ ।
रियलले घरेलु टोली जिरोनामाथि ३–० गोलको सहज जित निकाल्न सफल भयो । रियलको जितमा जुड बेलिङहम, आरदा गुलर र केलियन एमबाप्पेले गोल गरे । उनले एक असिस्ट पनि प्रदान गरे । पहिलो हाफको बेलिङहमको गोलबाट अग्रता लिएको रियलले दोस्रो हाफमा गुलर र एमबाप्पेको गोलबाट जित सुनिश्चित गर्यो ।
जिरोनामा शनिबार राति भएको खेलमा घरेलु टोलीविरुद्ध सुरुवातमा संघर्ष गर्नु परेपनि रियलले ३६औं मिनेटमा बेलिङहमको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । ब्राहिम डियाजको कटब्याक पास ब्लक भएपनि डि बक्स भित्रै क्लियर हुन नसकेको बललाई बेलिङहमले जाली चुमाए ।
५५औं मिनेटमा टर्किस युवा प्रतिभा आरदा गुलरले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । बेलिङहमको पासलाई उनले अफसाइड बिट ट्याप गर्दै गोल गर्न सफल भए । सुरुवाती दुई गोलमा संलग्न बेलिङहमले चोटका कारण ६१औं मिनेटमा मैदान छाड्न पर्यो ।
त्यसको एक मिनेटपछि नै एमबाप्पेले गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए । यसै सिजन रियल आएका एमबाप्पेको यो रियलका लागि १०औं गोल हो । त्यसपछि थप गोल निस्कन नसक्दा रियलले महत्वपुर्ण ३ अंक बटटुल्न सफल भयो ।
जिरोनामाथिको सहज जितसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी २ मा छोट्याएको छ । रियलले अझै एक खेल कम खेलेको छ ।
दोस्रो स्थानमा रहेको रियलको १६ खेलबाट ३६ अंक पुगेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ३८ अंक छ । रियलसँग पराजित जिरोना २२ अंक जोडेर आठौं स्थानमा छ ।