काठमाडौँ, २३ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आईरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिएका हुन् ।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौँले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वाससमेत व्यक्त गरेका थिए ।
अर्थमन्त्री महतले कोभिड लगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताए ।
उनले भने, ‘यो अहिलेको जुन ब्याजदर छ । त्यो ज्याँदा छ । त्यसकारण त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु । सायद केही न केही सम्बोधन होला । त्यसले गर्दाखेरी यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ । केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ ।’
अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तुहरुको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गरेका हुन् ।