Logo

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते



बैतडी, २८ असार । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

डिलासैनी गाउँपालिका-१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

जीपमा सवार अन्य छ जना घाइते भएका छन्। डिलासैनी-१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताए। राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

शनिबार बिहान ५ः३० बजे बैतडीको पाटन-६ स्थित खिपालीमा जीप दुर्घटना भएको हो। दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय उद्धारमा खटिएका थिए। जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्