काठमाडौँ, ७ जेठ । ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डेलाई नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ परेको छ ।
ब्युटी प्याजेन्टमा संलग्न एक युवतीले सामाजिक सञ्जालमा पाण्डेले आफू नाबालिग छँदा बलात्कार र यौनशोषण गरेको आरोप लगाउँदै भिडियो सार्वजनिक गरेकी छन् ।
पीडितले भिडियो सार्वजनिक गरे पछि सदनदेखि सडकसम्म बहसको विषय बनेको छ । अधिकारकर्मीले राजधानी काठमाडौँमा अभियुक्तलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै दिनहुँ प्रदर्शन गर्दै आएका छन् । प्रतिनिधिसभामा सांसदले कुरा उठाए पछि सभामुख अग्नी सापकोटाले छानवीन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो सम्बन्धमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समितिसमेत बनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।







