Logo

भद्रपुर गोल्ड कपलाई दीपक पोखरेलद्वारा दश लाख सहयोगको घोषणा



काठमाडौँ, ३० पुस । सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले भद्रपुरमा फागुन ७ गतेदेखि हुने गोल्ड कप सम्पन्न गर्न दश लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

गोल्ड कप आयोजक समितिद्वारा चाहविलको रिभेरा इन्टरनेशनल स्कूलमा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा पोखरेलले दश लाख सहयोग गर्ने घोषणा गरेका हुन् । भद्रपुर निवासी पोखरेल ओम साई पाथीभरा अस्पतालका अध्यक्षसमेत हुन् । उनले भद्रपुरको विकासका लागि सहयोग गरेको बताए ।

गोल्ड कप समितिले भद्रपुरको मेची रंगशालामा फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्ड कप तयारी गर्ने तयारी गरेको छ । मेची रंगशालामा १८ वर्ष पछि गोल्ड कपको तयारी भएको हो । गोल्ढ कपमा नेपाल, भारतलगायतका देशका क्लब सहभागी हुने भएका छन् ।

अन्तरक्रिया कार्यक्रममा डा. आनन्द श्रेष्ठले ५१ हजार, बीरेन्द्र माविको २०४६ सालको एसएलसी व्याचले १ लाख र गोपाल कोइराला÷भरत कोइरालाले ५१ हजार सहयोग गर्ने भएका छन् । भद्रपुर समाज काठमाडौँ, झापा समाज काठमाडौँ, बीरेन्द्र एलुम्नाइ समाजले संस्थागत सहयोगको प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले भद्रपुर गोल्ड कप सम्पन्न गर्न एक करोड सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरे । झापा समाजका अध्यक्ष डा. आनन्द श्रेष्ठ, भद्रपुर सरोकार समाजका अध्यक्ष वेदनिधि निराला, नेपाल उद्योग बाणिज्य संघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाललगायतले गोल्ड कप सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा माधव न्यौपाने, श्याम सिटौला, प्रकाश श्रेष्ठ, बासु न्यौपाने, बोधकृष्ण सुवेदी, खेमराज न्यौपाने, कैलाश न्यौपाने, मोहन कटुवाल, गीता ढकाल सुवेदीलगायतले सुझाव राखेका थिए ।

भद्रपुर झापा गोल्ड कप समितिका अध्यक्ष दिपेश ढकाल, भद्रपुरका निवर्तमान नगर प्रमुख तथा गोल्ड कप समितिका महासचिव जीवन श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) १ नं. प्रदेश समिति सचिवालय सदस्य एवम् गोल्ड कप समितिका उपाध्यक्ष डिल्ली घिमिरे (हिक्मत)ले गोल्ड कपको तयारी, सहभागी हुने टीम, आर्थिक व्यवस्थापनलगायतका विषयमा धारणा राखेका थिए । कार्यक्रमको संहजीकरण बीरेन्द्र एलुम्नाइ समाजका प्रज्वल कोइरालाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्