Logo

भद्रपुरका संक्रमित घर पुगेर फर्किए !



झापा, २२ जेठ । भद्रपुर नगरपालिकाको लापरवाहीले बिहिबार तीन जना संक्रमित रिपोर्ट आउनु अघि नै घर पुगेर फर्किएका छन् ।

भद्रपुरको कलबलगुडीको क्वारिन्टिनमा बसेका ९ जनाको समूह मध्ये ६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सुरुमा छ जनाको नेगेटिभ रिपोर्ट पठाएको थियो ।

तर, नगरपालिकाको स्वास्थ्य शाखाले सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै नौ जनालाई घर पठाएको थियो । नगरपालिकाले क्वारिन्टिनमा राख्न ल्याउने र संक्रमित बोक्ने गाडीबाट घर घर पूर्याइएको थियो ।

नेगेटिभ आएका ६ जना, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, चालक र सहचालकसँगै तीन जना संक्रमित एउटै गाडी चढेर घर गएका थिए । नेपाली सेनाको निगरानीमा रहेको क्वारिन्टिनमा नगरप्रमुख श्रेष्ठले सबैको नेगेटिभ रिपोर्टको आएको भनेपछि सबैलाई छाडिएको एक सुरक्षकर्मीले बताए ।

मेयर क्वारिन्टिनमा बस्ने
नगरप्रमुख श्रेष्ठ, चालक र सहचालकलाई जिल्ला जनस्वास्थ्य कार्यालय झापाले क्वारिन्टिनमा बस्न सुझाव दिएको छ । नगरप्रमुख श्रेष्ठले नगरको स्वास्थ्य शाखाको कमजोरी भएको स्वीकारे । उनले आफु क्वारेन्टिनमा बस्ने प्रतिक्रिया दिएका छन् । उनले चालक र सहचालक पनि बस्ने बताए ।

स्थानीयमा त्रास, सामाजिक सञ्जालमा बिरोध
नगरपालिकाको लापहवाहीले संक्रमित घर पुगेपछि स्थानीयमा त्रास उत्पन्न भएको छ । कतिपयले नगरपालिकाको लापरवाहीको सामाजिक सञ्जालबाट बिरोध गरेका छन् ।

संक्रमित घर पुगेको एक घन्टापछि नै तीन जना संक्रमित भएको रिपोर्ट आएकाले संक्रमण फैलन नपाएको एक स्वास्थ्यकर्मीले बताए । संक्रमणको पोजेटिभ रिपोर्ट आए लगत्तै जुन गाडी घर पूर्याएको थियो, त्यही गाडीले घरबाट उठाएर उनीहरुलाई कलबलगुडी क्वारेन्टाइनमा ल्याइएको थियो । उनीहरुलाई विपी प्रतिष्ठान धरान वा मोरङ्को गोठगाउँमा उपचार हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्