Logo

भद्रपुरमा एमाले घरदैलो अभियानमा



झापा, १७ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेसँगै झापाको सदरमुकाम रहेको भद्रपुरमा नेकपा एमालेले चुनावी अभियानलाई तीव्र पारेको छ ।

एमालेको तर्फबाट भद्रपुर नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएका युवा नेता असारु राजवंशी, उपप्रमुख पदमा उम्मेद्वारी दिएकी कौशल्या अधिकारीलगायत उम्मेद्वारहरुको टोली शनिबार विहानैदेखि विभिन्न वडाका घरदैलोमा मतदातासँग मत माग्न व्यस्त रहेको भद्रपुरको चुनाव प्रसार–प्रसार कमिटीका संयोजक तथा नेकपा एमाले प्रदेश नं १ का सदस्य जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनले भद्रपुरमा नेकपा एमाले तालिका बनाएर व्यवस्थित ढंगले चुनावी प्रचारमा लागेको बताए ।

शनिबार भद्रपुर नगरपालिकाको वडा नं ५ मा नगरप्रमुखका उम्मेद्वार राजवंशी र उपप्रमुखकी उम्मेद्वार अधिकारी, सो वडाको वडाध्यक्षका उम्मेद्वार रेवती खनाल, सदस्य पदका उम्मेद्वारहरु सहित कार्यकर्ता र समर्थकहरुको ठूलो समूहले घर–घरमा गएर मत मागेको र सर्वसाधारण मतदाताहरुले पनि नेकपा एमालेको नेतृत्वमा पाँच वर्षमा भएका प्रगतिहरुको मुक्तकण्ठले प्रशंसा गर्दै फेरि पनि एमालेलाई नै मत हाल्ने प्रतिबद्धता जनाएका थिए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा भद्रपुरमा नगरप्रमुख, उपप्रमुख, सात वडाध्यक्षसहित बहुमत सदस्य जित्न सफल नेकपा एमाले त्यो वचृस्व र विरासतलाई कायम राख्दै थप सफलता हासिल गर्ने गरी चुनावी मैदानमा उत्रिएको र सर्वसाधारण मतदाताको प्रतिक्रिया र धारणाले नेकपा एमाललेलाई थप उत्साही बनाएको प्रचार–प्रसार कमिटीकी सहसंयोजक चन्द्रमाया श्रेष्ठले बताइन् ।

यसैगरी, वडा नं ४ मा उम्मेद्वार तथा कार्यकर्ताहरुले नेकपा एमालेको प्रचार गीत घन्काउँदै घरदैलो गरेका थिए । वडाध्यक्षका उम्मेद्वार पूर्ण खजुमसहितको टोलीले मतदाताका घर–घरमा पुगेर मत मागेको थियो । शनिबार सबै वडामा मत माग्न घरदैलो गरिएको नेकपा एमाले भद्रपुर नगर कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्