झापा, १९ माघ । झापाको भद्रपुरस्थित मेची क्याम्पस क्रिकेट मैदान १५ वर्षपछि फेरि अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको साक्षी बन्ने भएको छ। माघ २१ गतेदेखि सुरु हुने कोशी पाथीभरा इन्डो-नेपाल टी-२० क्रिकेट च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको भद्रपुर क्रिकेट क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
कोशी पर्यटन वर्षको अवसर पारेर प्रदेश सरकारको सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताको मूल आयोजक समितिका संयोजक तथा भद्रपुर–८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज) ले मैदान, पिच, अस्थायी बाँसको प्यारापिट, स्कोरबोर्ड र पेभिलियन निर्माणलगायतका काम तीव्र गतिमा भइरहेको बताए। उनका अनुसार मैदानमा करिब ८ हजार दर्शक अट्ने क्षमता रहेको छ र प्रतियोगिता अवलोकन गर्न कुनै पनि प्रवेश शुल्क लिइने छैन।
माघ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका चार–चार गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। नेपालतर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, फ्रेन्ड्स यूथ क्लब डडेलधुरा, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड, डेभलपमेन्ट स्क्वाड र काठमाडौं गोर्खाज डेभलपमेन्ट स्क्वाड सहभागी हुनेछन्।
भारतबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किमले प्रतिस्पर्धा गर्ने तालिका छ। आयोजकका अनुसार दुवै देशका टोलीमा राष्ट्रिय तथा रञ्जित ट्रफीस्तरका अनुभवी खेलाडीहरूको सहभागिता रहनेछ।
प्रतियोगिताको कुल लागत करिब १ करोड २२ लाख रुपैयाँ अनुमान गरिएको छ। विजेताले नगद पाँच लाख रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन् भने उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट ब्याटर र बलरले २५–२५ हजार रुपैयाँ पाउने छन् भने उदीयमान खेलाडीलाई ११ हजार रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार दिने महासचिव वसन्त पोखरेलले जानकारी दिए।
मेची क्याम्पस मैदानमा यसअघि २०६७ सालमा नेपाली राष्ट्रिय टोलीको सहभागितामा बिनेश बर्मा स्मृति राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो। त्यसपछि मैदान लामो समयसम्म ओझेलमा परेको थियो।
२०८० सालमा भद्रपुर क्रिकेट क्लब गठन गरी मेची क्याम्पससँग १९ बुँदे सम्झौताअनुसार २५ वर्षका लागि मैदान लिजमा लिएपछि मैदान पुनः सञ्चालनमा आएको क्लबका अध्यक्ष आदित्य पराजुलीले बताए। उनका अनुसार काँसघारी बनेको मैदानलाई दुई वर्षको प्रयासमा अन्तर्राष्ट्रियस्तरको पिचसहितको ग्राउन्डमा रूपान्तरण गरिएको हो।
भद्रपुर नगरपालिका र प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको पेभिलियनका लागि नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरिसकेको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए। उनले प्रतियोगिताको सफलताका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए।






