झापा, १९ माघ । भद्रपुर नगरपालिका–२ अन्तर्गत सगरमाथा चोकमा आइतबार साँझ भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बनियानीबाट पृथ्वीनगरतर्फ गइरहेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको हो।
ठक्करपछि गम्भीर घाइते भएका खरेललाई तत्काल ओमसाई पाथिभरा अस्पताल, भद्रपुर पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। उनकाे शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक २१ वर्षीय अनुराग घोष पनि घाइते भएका छन् र हाल सोही अस्पतालमा उपचाररत छन्। पछाडि सवार २१ वर्षीय मन्दिप दङ्गालको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






