Logo

भद्रपुरमा सुई घोचेर एक व्यक्तिको हत्या



झापा, २३ माघ । झापाको भद्रपुरमा सुई (सिरिन्ज) प्रहारबाट एक व्यक्तिको ज्यान गएको छ। भद्रपुर नगरपालिका–१० धनुषमोड निवासी ६४ वर्षीय खेमराज ढकालको घरमै आक्रमण भएपछि उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार हिजो साँझ करिब ६ः२० बजे सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका–१ का २६ वर्षीय दिनेशकुमार सिंहले ढकालको घाँटीमा सुई घोचेका थिए। आक्रमणपछि गम्भीर घाइते भएका ढकाललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएको थियो। तर साँझ ७ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी सहायक निरीक्षक हरिबहादुर कटुवालको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले सुईसहित आक्रमणमा संलग्न सिंहलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्